सीप भएकालाई आपसमा जोड्ने स्टार्टअप श्रीयोग

Job Feb 3, 2022

काठमाण्डौः नेपालजस्ता विकासशील देशको प्रमुख चुनौती हो, बेरोजगारी । सहरदेखि गाउँसम्म बेरोजगार युवाको जमात छ । हातमा डिग्री र सीप हुनेहरू पनि काम नपाएर भौतारिरहेका छन् ।

देशमा विद्यमान बेरोजगारी समस्या बढिरहँदा यसको समाधानमा केही फरक काम गरौं भन्ने सोचसहित ‘श्रीयोग डटकम’ सुरू भयो । सन् २०१६ मा स्थापना भएको यो डिजिटल प्लेटफर्ममा हजाराैं सेवाग्राही जोडिएका छन् ।

श्रीयोगले वास्तवमा सीप भएका बेरोजगार युवालाई अवसरसँग जोड्ने काम गर्छ । अर्को शब्दमा भन्दा रोजगारी दिने र खोज्नेबीच सेतुको रुपमा यसले काम गर्छ ।

श्रीयोग कन्सल्टिङ प्रालिका संस्थापक प्रकाश उप्रेती भन्छन्, ‘समाजमा सीप र ज्ञान भएका धेरै व्यक्ति छन् । तर अवसर नपाएर यत्रतत्र भौतारिने गरेका छन् । सीप भएकाहरुलाई अवसरसँग जोड्न एउटा विश्वसनीय डिजिटल प्लेटफर्म बनाउन सकिन्छ कि भनेर श्रीयोग सुरु गरेका हौं ।’

आवश्यकीय कामका लागि विभिन्न विधाका व्यक्तिहरूकाे प्रोफाइल बनाई समस्याको समाधान गर्न सकिन्छ भन्ने उप्रेतीलाई लाग्यो । त्यसैअनुसार फरक शैलीको काममा पाइला चाले ।

यसअघि उप्रेतीले इन्टरनेटको माध्यमबाट व्यवसाय र सेवा विस्तार गर्ने लक्ष्यका साथ विराटनगरमा सन् २००७ मा ‘प्रकाश इन्फोसिस’ स्थापना गरेका थिए । उनले सन् २००३ देखि नै सफ्टवेयर टेस्टिङ, डिजिटल मिडिया मार्केटिङ, सर्च इन्जिन अप्टिमाइजेसन (एसईओ) लगायतका विभिन्न परियोजनामा काम गर्दै आएका थिए ।

त्यतिबेला अहिलेजस्तो प्रविधिकाे प्रयोग सुरू भइसकेको थिएन । नयाँ प्रणालीले सबैको पहुँचमा पुग्ने गरी काम खोज्न सजिलाे पुर्‍याउन त्यति सजिलो थिएन ।

उप्रेती भन्छन्, ‘भर्खरैमात्र भित्रिएको प्रविधिलाई मोबाइल एपमार्फत प्रयोगमा ल्याउनु प्रमुख चुनौती थियो । डिजिटल साक्षरता क्रमिक रुपमा बढदै जाँदा कोभिड-१९ को प्रभाव नै सबैभन्दा ठूलो चुनौती बन्यो ।’

लामो समयदेखि बेरोजगार भएर वैदेशिक रोजगारीमा भौतारिएका व्यक्तिलाई लक्षित गरी कम्पनीले काम गरिरहेको उप्रेती बताउँछन् ।

उनी भन्छन्, ‘डिजिटल प्रविधिको विकास पनि भइरहेको थियो । देशमा रोजगारीका अवसरहरु बढिरहेको थियो । काम गर्ने र गराउनेलाई डिजिटल रुपमा जोड्नुपर्छ भनी वेबसाइट र माेबाइल एप सञ्चालनमा ल्याइएको हो ।’

Tags